काठमाण्डौँ , मंसिर २४ :

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरुद्धको रिट दरपिठ विरुद्धको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

तर, त्रिपाठीले पेस गरेको उक्त रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो ।

सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले सो रिट प्रक्रियामा लैजान नपर्ने भन्दै दरपिठ  गर्नुभएको थियो ।

जापानमा मानव तस्करी प्रकरणमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । सोही प्रकरणमा मुछिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाण्डौँमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले अधिकारी सहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर उक्त प्रकरणमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।