
कैलाली, मंसिर २४ :
कैलालीको भजनी नगरपालिका- ५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले सुर्खेतको चौकुनी गाउँपालिका- १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका- १ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको जानकारी दिनुभयो ।
भारतबाट आएका उनीहरूबाट ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।