
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका क्रममा आज गृहजिल्ला झापा पुग्नुभएको छ ।
गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उहाँ गृहजिल्ला जानुभएको हो ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानेपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपुर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले आज दिउँसो मेचीनगर- ४ स्थित मानवसेवा आश्रम भवनको उद्घाटन तथा शिलान्यास र दिउँसो १ः ३० बजे दमक- ३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
मेचीनगरको मानवसेवा आश्रम उद्घाटन, शिलान्यास बाहेक अन्य सबै कार्यक्रम उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले बताउनुभयो ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली काँग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारी सहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्री समक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।