काठमाण्डौँ , मंसिर २४ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीको विषयलाई तीनै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा राधा पौडेल फाउन्डेसनले आज आयोजना गरेको ‘लैङ्गिक समानताका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र मर्यादित महिनावारी नीति संवादमा पूर्वमन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको विभेदको अन्त्य गर्नुपर्ने र महिनावारीलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँले मर्यादित महिनावारी निर्देशिका बनाउनका लागि मस्यौदा तयार गर्नुका साथै मर्यादित महिनावारीको देश बनाउन अभियान नै सञ्चालन गर्नुभएको थियो ।

पूर्वमन्त्री गुरुङले विभेदरहित मुलुक बनाउनका लागि सरकार, राजनीतिक र सामाजिक सङ्घसंस्था सबैले ध्यान दिनुपर्ने र मानिसको चेतनास्तरमा परिवर्तन ल्याउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

२१ औँ शताब्दीमा आएर यस्ता खालका विभेदलाई जरैदेखि उखेलेर निर्मूल गर्नुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रियसभा अन्तर्गत विधायन समितिका सभापति तुलसाकुमारी दाहालले मर्यादित महिनावारीको विषयलाई कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सभापति दाहालले २०७४ सालमा बनेको मर्यादित महिनावारी निर्देशिकाको मस्यौदा बारेमा आफूले थप जानकारी लिने र कानुन बनाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले प्राकृतिक रुपमा हुने महिनावारीलाई कुनै पाप, धर्म, जात वा भूगोल कुनैमा पनि हिसाबले विभेद गर्न नहुनेमा जोड दिनुभयो ।

राधा पौडेल फाउन्डेसनका संस्थापक अध्यक्ष डा राधा पौडेलले विश्वभरि नै महिनावारीका नाममा महिलाले कुनै न कुनै प्रकारको विभेद सहनुपरेको उल्लेख गर्दै विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । महिनावारीका नाममा कुनै पनि प्रकारको विभेद गर्न नहुने उहाँको भनाइ थियो ।

कार्यक्रममा डा राधा पौडेलको शब्द र समीक्षा अधिकारीको स्वरमा ‘मेरो शरीर मेरो अधिकार हुन्छ, अनुमतिबिना छुन खबरदारी छ’ बोलको गीतको सार्वजनिक गरिएको थियो ।

आज डिसेम्बर ८ विश्वभरि नै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ ।