झापा, मंसिर २५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्‌घाटन गर्नुभएको छ ।
 
दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्लामा रहनुभएका प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गर्नुभयो ।   
 
उहाँले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइ लगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।