काठमाण्डौँ , मंसिर २५ :

काठमाडौँसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् ।

पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाण्डौँको बुढानिलकण्ठमा एकजनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् ।

बुढानीलकण्ठ नगरपालिका- १३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । 

उहाँले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुने क्रम बढेको बताउनुभयो ।

प्रवक्ता डा भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा  आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

चिसो बढिरहेकाले मानिसहरूले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्‍दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।