बागलुङ, मंसिर २६ :

बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । 

वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् । 

पर्याप्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा परनिर्भर हुनुपरेको हो । बर्सेनि जिल्लामा कृषि क्षेत्रका लागि करोडौँका बजेट परे पनि योजना समयमा सम्पन्न नहुँदा किसान मर्कामा परेका हुन् ।

चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट ८८ आयोजना परेका छन् । गण्डकी प्रदेश र सङ्घीय सरकार अन्तर्गतका उक्त आयोजनाका लागि प्रदेशको १४ करोड बजेट परेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जीवन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा योजना परेका छन् । 

अधिकारीले जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३० हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको जानकारी दिनुभयो ।

त्यसमध्ये २५ दशमलव ८७ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको उहाँले उल्लेख गर्नुभयो । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार आठ सय ४१ हेक्टर रहेको अधिकारीले जानकारी दिनुभयो ।