पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका- १२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।
मुग्लिन- पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो ।
गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः ३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन- पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारी साधन सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
मुग्लिन- पोखरा सडक अन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्ड अन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।