काठमाण्डौँ , मंसिर २६ :

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गरेको छ ।  

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र  महेश शर्मा पौडेलको संयुक्त इजलासले आज रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।  

अनुसन्धानको चरणमा रहेका रवि लामिछानेको विषयलाई जोडेर अदालतप्रति मानहानि हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गर्नुभएको थियो ।

यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश भएको थियो । निवेदकले उक्त भाषण उतार गरेर बुझाएपछि दोहोरो सुनुवाइका लागि पेसी तोकिएको थियो   ।  

सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।  

अवहेलना निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ।  

सर्वोच्चले विपक्षी बनाइएका सबैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।