
यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ ।
नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।
एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।
जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए ।
जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो ।
यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ ।
ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज- मङ्सिर) पहिलो याम र (फागुन- वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न विदेशीले रुचि नदेखाएको बताउनुभयो । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाण्डौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो ।