बागलुङ, साउन २५ :

बागलुङ बडिगाड गाउँपालिका-१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिका अझै बेपत्ता रहेका छन् ।

पहिरोमा परि बेपत्ता भएका सात वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको  संयुक्त टोलीले खोजी कार्य जारी राखेका छन् ।

पहिरोमा परि ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले जानकारी दिनुभयो। 

गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।