मध्यमपश्चिम, मंसिर २७ :

रुकुम पूर्वको सिस्ने गाउँपालिका- ६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  

मृत्यु हुनेमा सिस्ने- ६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर रहेकी छिन् । लुम्बिनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका- ६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका- ५ का ४० वर्षीय टोपबहादुर कार्की रहेका छन् । 

गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । 

अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।