जुम्ला, मंसिर २७ :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोग मार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । 

आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द  महतले जानकारी दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालको संविधान २०७२ को धारा २४३ बमोजिम स्थायी पदपूर्ति र बढुवा सम्बन्धी कार्य लोकसेवा आयोग मार्फत अघि बढाउने कानुनी बाटो खुलेको छ ।

प्रतिष्ठानमा हाल कार्यरत शिक्षक र कर्मचारीहरूको योग्यता एवं योगदानलाई कदर गर्दै, वैधानिक प्रक्रियाबाट बढुवा गर्ने आधार तयार भएको छ ।

लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । तत्कालीन समयमा २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो ।

तीन वर्षको प्रयास र विभिन्न कठिनाइ पार गर्दै प्रतिष्ठानले यो कानुनी अवरोध पन्छाउन सफल भएको रजिस्ट्रार महतको भनाइ छ ।