काठमाडौँ, साउन २५ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै तत्काल सुधारका प्रयास थालेको बताउनुभएको छ ।

बुधबार राति एक विज्ञप्ति जारी गर्दै उड्डयनमन्त्री पाण्डेले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालेको जानकारी दिनुभएको हो ।

उहाँले अति जरुरी बाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । 
नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।