
फाइल: मोहम्मद अल- बशीर
लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बन्नुभएका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।
विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल- बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा भन्नुभयो, “उहाँको पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ हो ।
विदेशमा रहेका नागरिकको मानव पूँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो विदेशस्थित सबै सिरियालीहरूलाई एउटा अपील छः सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।”
इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भाग्नुभएको थियो ।
सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो ।”
असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ ।