जाजरकोट, मंसिर २८ :

जाजरकोटको नलगाड नगरपालिका ३ को बिराखोला कैना- कट्के सडक खण्डमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
  
गएराति ११ बजेको समयमा ग. ३. च. ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन् ।

नलगाड नगरपालिका ५ कालिमाटीबाट नलगाड ३ करुवा जाँदै गरेको उक्त जिप सडकबाट करिब ७ सय मिटर तल खोलामा खसेको जनाइएको छ। 

जिपमा चालक सहित ७ जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरि थप उपचारका लागि नगर अस्पताल दल्लीमा पुर्‍याइए लगत्तै ५ जनालाई चिकित्सकले मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा नलगाड नगरपालिका- ३ करुवा बस्ने अन्दाजी ३१ वर्षका गाडी चालक ईन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षकी शिला पुन, अन्दाजी ३२ वर्षकी शारदा थापा, अन्दाजी १७ वर्षकी लक्ष्मी पुन रोका र उनको १ महिनाको छोरा आलोचन रोका रहेको उहाँले बताउनुभयो ।

घाइते दुई मध्य २१ वर्षका जिवन बि.कको सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षका जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भैरहेको प्रहरीले बताएको छ । 

गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।