बागलुङ, मंसिर २८ :

बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ ।

यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । वि. सं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । 

हाल यहाँको बस्ती- बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पुर्‍याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्का मार्फत ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो ।

अदालत- चौपारी- गौँडाकोट- तित्याङ- भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडक अन्तर्गत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन् ।  

पहिलो चरणमा छ महिना अघिदेखि ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम सुरु भएको छ । 

यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका- ११ रायडाँडाको वडा कार्यालयसम्म चार किमि सडक स्तरोन्नतिका लागि १० करोड लागतमा ठेक्का सम्झौतापछि निर्माण व्यवसायी काममा फर्केको छ । 

छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका- ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उहाँको भनाइ छ ।