
तीन दिनदेखिको बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै गएपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी रातभर निदाउन सकेका छैनन् ।
विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर राप्ती नदी कटान गर्दै गाउँतिर पसेपछि बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन नसकेको राप्ती सोनारी-७ खल्लाझगडियाका शङ्कर यादवले गुनासो गर्नुभयो ।
दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको उहाँले बताउनुभयो ।
राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला शङ्कर मात्र नभई राप्ती सोनारी-७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको पिप्रहवा गाउँका स्थानिय दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।
तटबन्ध निर्माण गरि डुबानबाट बस्ती जोगाई दिन सांसद सूर्य ढकाल, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतलाई पटक पटक हारगुहार गरेपनि अहिलेसम्म कसैले चासो नदिएको नरैनापुर-६ गङ्गापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो ।
बेलैमा तटबन्ध निर्माण नभए राप्ती सोनारी गाउँपालिका-६, ७ र नरैनापुर गाउँपालिकाका ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेको उहाँको भनाइ छ ।