
सङ्घीय राजधानी काठमाण्डौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाण्डौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् ।
काठमाडौँ महानगरपालिका- २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार/ चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताउनुभयो।
काठमाडौँ महानगरपालिका- २ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्दै उहाँले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार/ चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताउनुभयो ।
काठमाण्डौँ उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार/ चार मिटरको मापदण्ड तोकेको छ ।
काठमाण्डौँ महानगरपालिका- २ लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब एक सय ५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उहाँले जानकारी दिनुभयो ।
६२० मिटर क्षेत्रमा छ देखि सात वटा घर भने नदी किनारको चार मिटर मापदण्ड मिचेर निर्माण भएकाले त्यसलाई भत्काउनुपर्ने वडा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
यस क्षेत्रमा नदीको मापदण्ड कसले कति मिचेका छन् भन्ने तथ्य पनि बेला बेलामा सार्वजनिक हुने गरेको छ ।