
आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस ‘नागरिकको स्वास्थ्यः राज्यको दायित्व’ भन्ने नारासहित विश्वभर मनाइँदैछ ।
प्रत्येक वर्ष डिसेम्बर १२ तारिखमा स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज डे) दिवस मनाइन्छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्य भन्नाले सबै व्यक्तिले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा आर्थिक कठिनाइको सामना नगरी प्राप्त गर्ने अवस्थाको सुनिश्चितता गर्नु हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै यो दिवस सबैका लागि स्वास्थ्यमा लगानी गर्न र विशेष गरी कमजोर आर्थिक अवस्था भएकालाई स्वास्थ्य खर्चका कारण गरिबीमा पर्नबाट बचाउन पैरवी गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको जनाएको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचले प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशासन सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाको पूर्ण निरन्तरता दिनुपर्ने विषयलाई समेट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ दिगो विकास एजेण्डा सन् २०३० ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल प्रतिबद्धता अनुरूप रहेको मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अझै पनि चार दशमलव पाँच अर्ब मानिसले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न नसकेका र दुई अर्ब मानिस स्वास्थ्य उपचारका कारण हुने खर्चले गर्दा आर्थिक कठिनाइको सामना गरिरहेको बताउँछ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो दिवसले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाइ हुनबाट जोगाउन विश्वभरका सरकारलाई विभिन्न कदम चाल्न दिवस मार्फत आह्वान गरेको बताउनुभयो ।