काठमाण्डौँ , मंसिर २८ :

काठमाण्डौँ जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रकम लगेर कम्बोडियामा लगानी गरेको दाबी गरेको आरोपमा प्रहरीले मङ्सिर ४ गते पक्राउ गरेको थियो । 

जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिए पनि प्रसाईं तत्काल नछुट्ने भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब) ले  प्रसाईंमाथि आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान चलिरहेकाले नछुट्ने जनाएको हो ।

साइबर अपराधको मुद्दामा धरौटीमा छाड्ने आदेश आए पनि आपराधिक विश्वासघातको कसुरमा हिरासतमै बस्नुपर्ने सीआइबीले जनाएको छ ।