काठमाण्डौँ , मंसिर २९ :

नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलन आज र भोलि चल्नेछ ।

सम्मेलनमा सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्यका प्राथमिकता, बजेट, सरकारले ध्यान नदिएका यथेष्ट विषयहरूमा छलफल हुने बताउनुभयो । 

सङ्घका महासचिव डा सञ्जिव तिवारीले सम्मेलनमा विषयविज्ञ, प्रबुद्ध वर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्श मार्फत सैद्धान्तिक बहस हुने जानकारी गराउनुभयो ।

‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देश सहित सुरु भएको सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरूसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने रहेको डा तिवारीले बताउनुभयो ।

सम्मेलनमा प्रस्तुत कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी अघिल्लो वर्ष झैँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत देशभरका सरोकारवाला निकायमा सुझाव सम्प्रेषण गरिने आयोजकले जनाएको छ ।