पोर्चुगल, मंसिर २९ :

नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई- पासपोर्ट) वितरण सुरु गरेको छ ।

फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई- पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ । 

गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरूको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ । 

शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई- पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताउनुभयो । 

छ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई- पासपोर्ट वितरण गरिने तयारी छ । 

युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोर्चुगलमा तत्कालै राहदानी वितरणको व्यवस्था मिलाउन निर्देशन गरेपछि हिजोदेखि लिस्बनमा राहदानी वितरण गर्न सुरु गरेको भट्टराईले बताउनुभयो ।

टोलीले आज र भोलि दुई दिन राहदानी वितरण सहित अधिकृत वारेसनामा प्रमाणीकरणको सेवा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । 

राहदानी विभाग काठमाडौँबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिका अनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रह समेत गर्नुभएको छ । 

राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत अगष्टमा राजधानी लिस्बनमा सञ्चालन गरेको ‘घुम्ती सेवा शिविर’ बाट ३ हजार आठ सय २९ नेपालीको ई- पासपोर्टका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको थियो । 

जसमा करिब नौ सय ४० वटा राहदानी पेरिसबाटै वितरण भइसकेको दूतावासले जनाएको छ ।