
भारतीय अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरिएको छ ।
चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई शुक्रबार
अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसै महिना भारतका दक्षिणी शहर हैदरावादको एक सिनेमा हलमा अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २ः द रूल’ को विशेष प्रदर्शन (स्क्रिनिङ) का लागि पग्नुभएको थियो । उहाँलाई हेर्न ठूलो भीड भेला भएको र भीड अनियन्त्रित हुँदा भाग दौड मच्चिएको र एक महिलाको मृत्यु भएको थियो ।
नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, “४२ वर्षीय अभिनेतालाई खतरनाक हतियार वा साधनले स्वेच्छाले चोट पुर्याउने लगायत तीन वटा अपराधको आशङ्कामा पक्राउ गरिएको हो ।
अधिकारीका अनुसार यस घटनामा संलग्न अन्य सात जनालाई यसअघि नै पक्राउ गरिसकिएको छ ।
टेलिभिजन टिभी नाइनले सामाजिक सञ्जाल ‘एक्स’मा शेयर गरेको भिडियोमा अभिनेताले कफीको कप समातेको र उहाँलाई हिरासतमा लिन आफ्नो निवासमा पुगेका अधिकारीसँग कुरा गरिरहेको देखिएको छ ।
आफ्नो छोरासँग स्क्रिनिङमा सहभागी भएकी ३० वर्षीया एक महिलाको डिसेम्बर ४ मा भएको भागदौडमा परी मृत्यु भएको थियो ।
महिलाका परिवारले अर्जुन, उहाँको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापन विरुद्ध उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।
अर्जुनले दुर्घटना भएको दुई दिनपछि घटनाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै घटनाबाट आफू निकै मर्माहत भएको बताउनुभएको थियो ।