काठमाण्डौँ , मंसिर २९ :

कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ ।

वि. सं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । 

पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियतामा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चिता सहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले जानकारी  दिनुभयो । 

विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन् ।

विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ । त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक/ एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ ।

तालिका अनुसार यति एयरलाइन्सले काठमाडौँ- नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइट मार्फत तारा एयरले नेपालगञ्ज- टीकापुर उडान भर्नेछ ।

टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ । यसका लागि एकमुष्ट काठमाडौँ- टीकापुरको एक तर्फी भाडा नौ हजार निर्धारण गरिएको छ ।

टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवा लगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । 

टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ ।