काठमाण्डौँ , मंसिर ३० :

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी हुनुभएको छ । 

आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत गर्नुभएको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिनुभयो । 

उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गर्नुभयो । 

यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्त गर्नुभयो । 

अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको निर्वाचन संयोजक लम्सालले जानकारी दिनुभयो । 

यस्तै, एसोसिएट केन्द्रीय सदस्यतर्फ मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी हुनुभएको छ । 

महासङ्घ एसोसिएट अन्तर्गत कार्टुनिष्ट क्लब, चलचित्र पत्रकार सङ्घ नेपाल, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली पत्रकार, एभरेष्ट प्रेस क्लब, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, अनलाइन पत्रकार सङ्घ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, फोटो जर्नालिस्ट क्लब र पत्रकारिता अनुसन्धान तथा तालिम समाज रहेका छन् । 

भक्तपुरमा शिल्पकार निर्वाचित
नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी हुनुभएको छ ।  

शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित हुनुभएको छ । 

त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुँयाल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित हुनुभएको छ । 

केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय हुुनुभएको निर्वाचन अधिकृत बालमुकुन्द सुवावलले जानकारी दिनुभयो ।

ललितपुरको अध्यक्षमा कार्की निर्वाचित
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ । 

कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी रमेशप्रसाद  तिमिल्सिनाले ६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिनुभयो । 

यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनुभएको छ । 

सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित हुनुभएको छ ।

सोलुखुम्बुको अध्यक्षमा दर्नाल विजयी
नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी हुनुभएको छ । 

शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै विजयी हुनुभएको हो । निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गर्नुभएको छ । 

खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित हुनुभएको छ । 

यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित हुनुभएको छ ।

महोत्तरी शाखामा महेश दास
नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित हुनुभएको छ । दासले ३२ मत र उहाँका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, उपाध्यक्षमा अरविन्दकुमार झा, महिला उपाध्यक्षमा आशाकुमारी तोलाङ्गी, सचिवमा रामनारायण महतो, सहसचिवमा दीपककुमार पाण्डे, सहसचिव समावेशीमा शर्मिला घिमिरे, कोषाध्यक्षमा राजीवकुमार राय कुर्मी, निर्वाचित हुनुभएको छ । 

महासङ्घको समावेशी तर्फ सदस्यमा ममता विश्वकर्मा, रजनी कुमारी, निरञ्जन साह, विष्णु गुप्ता र खुला सदस्यमा उषा आचार्य, जीवनराज दाहाल, टेकप्रसाद पोखरेल, निरुताकुमारी चौधरी, विनयकुमार यादव, रञ्जित कापर, रामबाबु यादव र सरस्वती लामा निर्वाचित हुनुभएको छ । 

सप्तरीमा पुनः प्रेस युनियनका  देव
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित हुनुभएको छ । 

प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गर्नुभएको छ ।

यहाँ उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी  हुनुभएको छ । 

महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल,  सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिनुभयो ।

महिला सदस्यमा रक्षा चौधरी,  दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । 

मधेशी सदस्य तर्फ अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्य तर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् । 

पत्रकार महासङ्घ झापामा पुनः गिरि
नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । 

अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभयो । 

यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाउनुभयो । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल  सर्वसम्मत निर्वाचित भइसक्नुभएको थियो । महासङ्घको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गर्नुभयो । 

महासङ्घको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।