
काठमाण्डौँ महानगरपालिकाले ३० औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार सहित सम्मान गरेको छ ।
महानगरपालिकाले आज आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोल लगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगद सहित सम्मान गरिएको हो ।
लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।
खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित हुनुभएको कामपाले जनाएको छ । सम्मानित व्यक्तित्वलाई नगद रु एक लाख ५० हजार सहित पुरस्कार प्रदान गरिएको हो ।
समारोहमा कामपाका ३२ वटै वडाले आ- आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर सङ्कलन गर्ने सवारी लगायत उपकरण प्रदर्शन गरिएको थियो ।
आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’ अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ ।