
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाण्डौँ विश्वविद्यालय (केयू) को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभयो ।
“अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढेका छौँ, यसका निम्ति केयू लगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्” केयूका कुलपतिसमेत रहनुभएका ओलीले भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाईसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।”
प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । “विद्यार्थीको आचारण, नैतिकता र सोच सकारात्मक हुनुपर्छ” उहाँले दीक्षित विद्यार्थीतर्फ इङ्गित गर्दै भन्नुभयो, “विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफताका लागि अझ परिष्कृति म्यानर मिसाउनुपर्छ ।”
विश्वविद्यालय शिक्षाको मन्दिर र ज्ञानको आधार हो भन्दै उहाँले व्यवहारतः असाधारण सीमामुक्त शिक्षालाई जीवनभर ग्रहण गरिरहनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले धर्तीको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा दुःखेसो पोख्दै अन्य भूभाग समेत मरुभूमि बन्ने खतरा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।