
सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ ।
आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीन सहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरु भएको हो ।
यसअघि वि.सं २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।
पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूण कुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँ लगायतले स्वागत गर्नुभयो ।
विमान अवतरणका क्रममा स्थानीयको बाक्लो उपस्थित रहेको थियो ।
त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाण्डौँ- टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताउनुभयो ।
टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाण्डौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्स मार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो ।