
काठमाण्डौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।
उहाँको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाली काँग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि काँग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।
काठमाण्डौँ महानगरपालिकाले पूर्व मेयर सिंहको निधनमा आज शोक बिदा दिएको छ ।
कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
२०५२ साल मङ्सिर २९ गते काठमाण्डौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।