
सशस्त्र प्रहरी बल नेपाल, पर्साले दुई दिनमा फरक- फरक ठाउँबाट करिब ४५ लाखभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियताको कारणले भन्सार छली गरेर भित्र्याइएका सामान दिनहुँजसो नियन्त्रणमा लिँदै आएको जानकारी दिनुभयो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगर- १६ स्थित इनर्वा तथा सीमानाकाबाट भित्राइएको १३ लाख ३६ हजार नौ सय ३५ मूल्य पर्ने किनारा, कस्मेटिक्स, मोटर पार्ट्स, मोबाइल एसेसोरिज र कपडालगायतका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले ना ५३ प ९३०६ नम्बरको करिब दुई लाख मूल्य पर्ने मोटरसाइकल समेत बुझाएको छ ।
सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज भन्सार कार्यालयबाट शनिबार खटिएको टोलीले वीरगञ्ज महानगर- ६ स्थित लाठगलीबाट प्रवेज अक्तरको स्टोरको गोदामबाट भन्सार छली गरेर भण्डारण गरिराखेको ३० लाख ४९ हजार मूल्य पर्ने कपडा बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई दाखिला गरेको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याइएका १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।