लुम्बिनी, पुस २ :

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ । 

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ । 

यस वर्ष दुईवटा प्याकेजमा काम गर्ने तयारी रहेको र पहिलो चरणमा शीतगङ्गा र गढवा क्षेत्रमा काम हुने उहाँले बताउनुभयो । 

प्रादेशिक राजधानी निर्माणको विस्तृत योजना (डिपीआर) तयार भएको छ । आधुनिक सहर निर्माणका लागि पाँच वर्षमा रु २५ अर्बको परियोजना तयार पारिएको हो ।

पूर्वाधार विकास प्राधिकरण प्रमुख अधिकृत पोख्रेलका अनुसार विभिन्न चरणमा काम हुनेछन् । त्यसमध्ये पहिलो चरणमा पाँच वर्षभित्र २५ अर्बमा काम गरिने गरी डिपीआर तयार भएको हो । 

डिपीआर अनुसार राप्ती नदीको वारिपारि कङ्क्रिट वालसहितको तटबन्ध र राप्ती वारपार जोड्ने तीन वटा पुल निर्माण गर्ने, खानेपानी, विद्युत्, सडक विस्तारको समेत काम हुनेछ । 

राप्ती नदीको वारि र पारि पक्की तटबन्ध सहितको ५०- ५० मिटरको कालोपत्रे सडक निर्माण गरी राप्ती, गढवा, राजपुर र शीतगङ्गा अर्थात् राजधानी क्षेत्रको राप्ती उपत्यकालाई बृहत् सडक सञ्जालमार्फत जोडिने योजना रहेको उहाँले बताउनुभयो तर, त्यसका लागि स्रोत नहुँदा समस्या भएको उहाँको भनाइ छ ।