काठमाण्डौँ , पुस २ :

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । 

भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्यृत गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भोटखोला गाउँपालिका- ४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत्गृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिका- २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर  आयोजना स्थलतर्फ जान आयोजनाले अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण गरिरहेको छ ।

भोटखोला गाउँपालिका- ४ नामासे र सोही गाउँपालिका- २ रूकुमा जोड्ने २ किलोमिटर सुरूङ मार्ग निर्माणका लागि आवश्यक बुमर, जेसिबी, लोडर, रोबोटिक सटक्रिट, सटक्रिट मेसिन, कङ्क्रिट पम्प, जेनेरेटर लगायतका हेभी उपकरणहरू एवं निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ । 

दुवै स्थानसम्म पुग्न सडक नभएकाले कोशी राजमार्ग हुँदै गोलाबजार पुर्‍याइएका उपकरणलाई खोलेर एमआई–१७ तथा अन्य साना हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । हालसम्म तीन सय खेपभन्दा बढी ढुवानी भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो- इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका प्रबन्ध- सञ्चालक फडिन्द्रराज जोशीलगायतको टोलीले शनिबार र आइतबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीय बासिन्दासँग छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले पहुँच मार्ग निर्माणमा हालसम्म भएको प्रगतिबाट उत्साहित भएको र  यसबाट अपर अरुण आयोजना अगाडि बढेको सन्देश गएको बताउनुभयो ।

सुरुमा पहुँच मार्गको ट्रयाक खोल्न सकिएमा त्यसपछि निर्माण सामग्री ढुवानी गर्न सजिलो हुनेभएकाले एक आपसमा समन्वय गरी सोही बमोजिम काम अगाडि बढाउन आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।