काठमाडौँ, पुस ३ :

पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका- १ रातो पुलमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाण्डौँबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३- ००१ ख २७२९ नम्बरको बसले गएराति ठक्कर दिँदा अन्दाजी ५० वर्षका पुरुषको मृत्यु भएको हो ।

उनको बर्दिबास अस्पतालमा उपचारका क्रममा  आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिनुभयो ।

पैदलयात्रुलाई ठक्कर दिएपछि नरोकी गन्तव्यतर्फ गइरहेको बसलाई सिरहाबाट नियन्त्रणमा लिइ चालक धादिङ थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।