
शुक्लाफाँटा नगरपालिका- ५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन ।
खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् ।
गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि ३४ लाख ८१ हजार पाँच सय ८० अनुदानबापत रकम प्राप्त भएको जानकारी दिनुभयो । सो रकमबाट ठेक्का प्रक्रियामार्फत पर्खाल, पालेघर तथा बोरिङ निर्माण गर्न २५ लाख रकम खर्च भएको छ ।
त्यसपछिका वर्षमा आयोजनाका लागि बजेट नआउँदा निर्माण अलपत्र परेको भण्डारीले बताउनुभयो । पाँच सय १५ जना उपभोक्ताबाट अक्षयकोष स्थापनाका लागि एक हजार तीन सयका दरले छ लाख ६९ हजार पाँच सय रकम सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष भण्डारीले आयोजना सम्पन्न गर्न कूल नौ करोड ४६ लाख ३४ हजार छ सय ४० बजेट लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।