महोत्तरी, पुस ३ :

पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला- १ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ ।

क्रसिङ सुरु गरेको एक साता भइसके पनि किसानले उखु नल्याइदिँदा घान नपुगेर दिनदिनै क्रसिङ रोक्नुपरेको ती उद्योगले जनाएका छन् ।

यसपटक क्रसिङ गत मङ्सिर २६ गतेबाट सुरु भएको हो । उखु अपुगले अहिलेसम्म राम्ररी क्रसिङ हुन नसकेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । यसपालि समयमै क्रसिङ सुरु गर्यौं, तर उखु भने पर्याप्त नआएर घान नपुग्दा क्रसिङ दिन बिराएर गर्नुपरेको उहाँले बताउनुभयो ।

उद्योगको क्षमताअनुसार क्रसिङ हुन दैनिक ४० देखि ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । क्रसिङ थालिएको पछिल्ला दिनमा २०- २२ क्विन्टलमात्र उखु पुग्दा क्रसिङ प्रभावित भएको हो । 

यसले गर्दा एक दिन बिराएर उद्योग चलाइँदा  खर्चिलो भएको र चिनी उत्पादन पनि हुन नसकेको महाप्रबन्धक शुक्लाले बताउनुभयो ।

आव २०८१- ८२ मा सरकारले उखु कटान पूर्व नै मूल्य निर्धारण गरेपछि तालिका अनुसार क्रसिङ राम्ररी चल्छ भन्ने उद्योगको बुझाइ थियो । गत वर्ष उखुको मूल्य निर्धारणबारे उखु उत्पादक महासङ्घ आन्दोलनमा रहँदा पुस ४ गतेमात्र क्रसिङ सुरु भएको थियो । यद्यपि क्रसिङ सुरु गरिँदा पनि मूल्य निर्धारण भने भइसकेको थिएन ।

तर यसपालि मूल्य निर्धारण सरकारले समयमै गरिदिँदा मागअनुसार नपाए पनि उखु दिनभन्दा पहिले नै कति पाइने भन्ने निधो हुँदा किसानले राहत महसुस गरेका छन् । त्यसैले मूल्यमा चित्त नबुझे पनि किसान उखु काट्ने तयारीमा छन् । 

सरकारले सबै कुराको मूल्यवृद्धिको अनुपात मिलाएर मूल्य निर्धारण नगरिदिँदा मर्कामा भए पनि कटानपूर्व नै मूल्य निर्धारण हुँदा केही राहत भएको किसानको भनाइ छ ।

भङ्गाहा- ४ रामनगरका उखु किसान अरुण गिरीले मजदुर अन्य काममा लाग्दा कटान गर्न नसकिएको बताउनुभयो ।

यसपालि उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । जसमा महोत्तरीबाट २४ लाख, सर्लाहीबाट सात लाख र अन्य जिल्लाबाट चार लाख क्विन्टल उखु  सङ्कलन हुने जनाइएको छ ।

अब मेलापात, चाडपर्व सकिएका र अन्य हिउँदेबाली लगाउने चाँजो मिल्दै गएको हुँदा अबको साता कटान पर्याप्त हुने उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ ।