सिरहा, पुस ३ :

मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा संलग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । 

प्रहरीले सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार नेपालसहित भारतका विभिन्न स्थानमा हुसैन विरुद्ध डकैती, लुटपाट तथा सङ्गठित अपराध मुद्दा दर्ता छ । 

महोत्तरीको महोत्तरी गाउँपालिका- २ स्थित एनएमबि बैङ्कको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर ३८ लाख लुटेको घटनामा पनि उनी प्रतिवादी रहेका थिए ।

त्यसैगरी २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका- ३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैङ्कका कर्मचारीलाई पेस्तोल देखाई नौ लाख लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो । 

अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेपनि सबै घटनामा मुद्दा दर्ता नभएको उहाँले बताउनुभयो ।

भारतमा बसी नेपालमा सङ्गठित अपराध गर्दै आएका डाँकाहरूको समूह नै रहेको र पक्राउ परेका डाँकु हुसैन उक्त समूहका नाइके रहेको प्रहरीले जनाएको छ । 

उक्त समूहका अन्य केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । उक्त समूहले नेपालमा मात्र नभएर भारतमा पनि चोरी, डकैती गर्दै आएको र भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिनुभयो ।