
वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।
विभागले आज एक सूचना जारी गर्दै सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो ।
विगत केही सातादेखि मुलुकको तराई क्षेत्र लगायत काठमाण्डौँ उपत्यकामा वायु प्रदूषण बढेको भन्दै सूचना जारी गर्दै सचेत गराएको हो ।
वायु प्रदूषणका मुख्य कारक उद्योग, कलकारखाना र सवारी साधन, वन डढेलो हो । त्यसैगरी, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित गर्ने सूचनामा उल्लेख छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।