पर्वत, पुस ३ :

ट्रयाक खुलेको झण्डै दुई दशकपछि पातिचौर- बाजुङ- क्याङ- लेसपार- नागी सडक स्तरोन्नतिको काम सुरु भएको छ । 

एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा आरसिआइपी परियोजना पोखरामार्फत सडकको स्तरोन्नति थालिएको हो । करिब २८ किलोमिटर लामो यो सडक झन्डै ५४ करोड ९० लाख ४२ हजार नौ सय ७० को लागतमा स्तरोन्नति थालिएको हो ।

यो अहिले जिल्लामा सञ्चालित सडक आयोजनामध्ये सबैभन्दा ठूलो रहेको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो । 

मार्ग खुलेको लामो समयसम्म पनि सडक स्तरोन्नति नहुँदो मोदीका वडा नंं ५ र ४ का बासिन्दा कष्टकर रुपमा यात्रा गर्न बाध्य भएका थिए । स्तरोन्नति अन्तर्गत अहिले चक्लाबन्दी गर्ने, नाली बनाउने, ग्याबिन जाली, टेवा पर्खाल निर्माणलगायत काम भइरहेको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । 

चौबीस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत २९ गते एमएस बाँनिया निर्माण सेवा प्रालि हेटौँडाले निर्माणको जिम्मा पाएको छ । अहिले स्तरोन्नतिका लागि पर्याप्त जनशक्ति राखेर काम गरिरहेको निर्माण व्यवसायीले जानकारी दिएका छन् । 

दुई वर्षमा कालोपत्र सहित सम्पन्न हुने सडकले छिमेकी जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र नागीलाई समेत जोड्नेछ । यसले पर्यटकीय र अन्य रणनीतिक महत्व बोकेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । 

विशेषगरी पर्वतको जलजला, हम्पाल, माटे हुँदै म्याग्दीका नागी, मोहोरेडाँडा, पुनहिल लगायत क्षेत्रमा जाने पर्यटकलाई पनि सडकले राहत मिल्ने छ । 
 
योसँगै मोदी गाउँपालिकामै अर्को सडक कालोपत्रको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत करिब ४२ करोडको लागतमा निर्माणाधीन रतिखोला- दराक- चित्रे- गँगटे सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि द्रुतगतिमा भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । 

करिब १२ किलोमिटर लामो यो सडक दुई वर्षभित्रमा कालोपत्र सहित सम्पन्न हुनेछ ।