
गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ ।
उहाँले शान्ति सुरक्षा खलबलिने बित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताउनुभयो ।
गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रूपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधानमा भएको मौलिक हकको सुरक्षा गर्नु र नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार लोकतन्त्रको पूर्वसर्त शान्ति सुरक्षा भएको बताउनुभयो।
गृहमन्त्री लेखकले लुम्बिनी प्रदेश सांस्कृतिक, धार्मिक विविधता मात्र नभएर विश्वभरनै शान्तिको ज्योति प्रवाह गर्ने बुद्धधर्मको महत्वपूर्ण केन्द्र रहेकाले शान्तिसुरक्षा भरपर्दो र चुस्त हुनुपर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी, सीमापार अपराध, सवारी दुर्घटना, लागु औषध, आत्महत्या, साइबर अपराध जस्ता आपराधिक क्रियाकलाप सुरक्षा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिनुभयो ।
आर्थिक, वित्तीय अपराधका घटना बढेकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढङ्गले काम गर्न उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
उहाँले संविधानको सुरक्षा, सुदृढीकरण र कार्यान्वयन अहिलेको सरकारको राष्ट्रिय एजेण्डा भएको पनि बताउनुभयो ।
पूर्ण प्रेस स्वतन्त्रतामा अवरोध हुन नहुने र प्रेस स्वतन्त्रतामाथि कतैबाट कुनै पनि प्रकारले खण्डित गरिएमा त्यो अवरोध हटाउनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो ।
वर्तमान दुई दलको समीकरणको सरकार मुलुकमा सुशासन दिन, भ्रष्टाचार नियन्त्रण गर्न र विधिको शासन स्थापित गर्न बनेको गृहमन्त्री लेखकको भनाइ थियो ।