
नेपाल प्रिमियर लिग एनपिएलमा आजबाट क्वालिफायरका खेलहरु सुरु हुदैछ ।लिग चरणका खेलहरु सकिएसँगै क्वालिफायरका खेलहरु सुरु हुन लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेलमा एलिमिनेटरमा स्थान बनाएका एवं लिगको तेस्रो टोली चितवन राइनोज र चौथो टोली कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी दिउँसो हुने पहिलो क्वालिफायर दोस्रो खेलमा लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ ।
लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा व्यहोरेको छ ।
सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्नेछ । त्यसैले यो खेल निकै महत्वपूर्ण हुनेछ ।
यस्तै एलिमिनेटर खेलमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ । यो खेलको विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ ।
क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न भोली प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल शनिबार हुनेछ ।