
सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ ।
विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास- सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दशकौँदेखिको सडक समस्या समाधान भएसँगै अन्य गतिविधि पनि बढ्न थालेको बताउनुभयो ।
“गाउँपालिकाले दुम्किबास- डाँडाजोर- सिदे्र हुँदै कोल्टाडीसम्मको करिब १४ किलोमिटर सडक कालोपत्र गरेको छ । दशकौँदेखि निर्माण हुन नसकेको सडक हामी आएसँगै चुनावी प्रतिबद्धता अनुसार सम्पन्न भएको छ । हाल एक छिनमा सरर सर्दी पुग्न सकिन्छ”, उहाँले भन्नुभयो ।
पालिकाका इन्जिनियर शम्भु केसीले करिब १७ करोडको लागतमा सडक स्तरोन्नति गरिएको बताउनुभयो । यसले स्थानीयको जनजीवन सहज बन्नुका साथै अन्य गतिविधिमा पनि बढोत्तरी भएको उहाँको भनाइ छ ।