जनकपुरधाम, पुस ५ :

सर्लाहीको बलरा नगरपालिका- ४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । 

एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिनुभयो ।

समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । वि. सं २०५६ मा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित हुनुभएका उहाँ वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कङ्ग्रेसको तर्फबाट बलरा नगरपालिका- ४ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । झाका श्रीमती, एक छोरा र चार छोरी छन् । 

झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बलरा-  ४ मा आज शोक बिदा दिएको वडाध्यक्ष मणिभूषण सिंहले जानकारी दिनुभयो । सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडा भित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय आज बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समाजसेवी गुमाएको उहाँले बताउनुभयो ।

यसैबीच, सङ्घीय सांसद अमरेशकुमार सिंहले आज एक शोक सन्देश जारी गर्दै बलरा- ४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजनीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।