
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कास्की प्रहरीले तस्वीर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने जनाएको छ ।
आज एक विज्ञप्ती प्रकाशित गर्दै कास्की जिल्ला प्रहरी कार्यालयले अनधिकृत रुपमा फोटो सार्वजनिक गर्ने व्यक्तिलाई साइवर कानून तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
सभापति लामिछानेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको विषय विवादित बनेपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई छानवीन गरी दोषीलाई कारवाही गर्न आजै निर्देशन दिनुभएको थियो ।
गृहमन्त्री र आइजीपीको निर्देशनपछि कास्की प्रहरीले विज्ञप्ती निकालेर कारवाहीको प्रतिवद्धता व्यक्त गरेको हो ।
त्यसो त सो तस्वीर रास्वपाकै समर्थक डा निकोलस भुषालले सिसीटीभीबाट खिचेर यही मंसिर २९ गते दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सार्वजनिक गरेको उनी आफैले स्वीकारेका छन ।
डा भुषालले सो तस्वीर सार्वजनिक गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमार्फत नै माफी मागेका थिए ।
तर प्रहरीले भने तस्वीर सार्वजनिक गर्ने काम अनधिकृत भएको भन्दै कारवाहीको प्रतिवद्धता व्यक्त गरेको छ ।
लामिछाने सहकारी ठगी प्रकरणमा हाल अनुसन्धानको क्रममा कास्की प्रहरी हिरासतमा छन ।