कञ्चनपुर, पुस ६ :

मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका- ९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् ।

मनाङको चामेस्थित नेपाल बैङ्क लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।

भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए । खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन् । 

उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताए । राति अबेरसम्म नआएपछि खड्का लगायत बैङ्कका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः ४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्वीचअफ’ भयो ।

सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ः०० बजे बैङ्कमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताउनुभयो । 

दाजु सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुग्यौँ”, विष्णुले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैङ्कका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौं, फेला परेनन्, निराश भएर घर फक्र्यौँ ।”