काठमाण्डौँ , पुस ६ :

मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विशेष कार्यक्रम सहित आफ्नो स्थापनाको रजत महोत्सव  मनाउने भएको छ ।

इप्पानले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत महोत्सव, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समिति बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।

लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र पाँच सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनी सदस्य रहेको ऊर्जा उद्यमीको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिलाई प्रस्तुत गर्नका लागि विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउन गइरहेको कार्कीको भनाइ थियो ।

वि. स २०५७ माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोहअवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण २५ वर्ष समर्पित गर्दा देशलाई लोडसेडिङमुक्त मात्र नगरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा पनि इप्पानको महत्त्वपूर्ण योगदान रहेको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताउनुभयो ।
 
देशव्यापी रूपमा विद्युत् उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्ने भएको छ ।