
नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एशोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्ने विषयक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ्ग कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्थाका रूपमा स्थापित छ ।
आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासङ्घको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देशबीचको व्यापार घाटा करिब सात अर्ब बराबर रहेको जनाइएको छ ।
नेपालबाट हाल फेल्ट, गलैँचा, धागो लगायत परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य सामानका लागि पनि बजार खोज्न सकिने महासङ्घको विश्वास छ ।
नेपाल- कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासङ्घ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सोलस्थित नेपाली दूतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको सामीप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताउनुभयो ।