काठमाण्डौँ , पुस ६ :

चुरे क्षेत्रमा अब चिउरीका बिरुवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । 

चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरुवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो । 

चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे- तराई मधेश संरक्षण विकास समितिले अब चुरे जोगाउन र त्यसबाट आर्थिक उपार्जन गर्न विभिन्न बिरुवा रोप्ने योजना बनाएको छ । समितिले उक्त योजनाको प्राथामिकतामा चिउरी, बाँस, विभिन्न जातका फलफूलका बिरुवा रोप्ने योजना रहेको बताएको छ ।
 
तर चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका बिरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ संस्था नै लगानी नगर्ने भन्दै फर्किसकेका छन् । समिति यतिबेला बाँस रोप्न नयाँ दातृ निकायको पर्खाइमा छ । 

चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकाय लामो समयसम्म पनि सहमति पाउन नसकेपछि फर्किएका थिए । 

समितिले वन तथा वातावरण मन्त्रालयबाट समयमा नै सहमति नआएपछि दाताहरूले आफ्नो प्रस्ताव फिर्ता लगेका छन् । 

समितिका अनुसार बाँस रोप्न चार अर्ब ८८ करोड ४० लाख (३७ मिलियन अमेरिकी डलर) अनुदान दिन फ्रान्सको दाता ‘रिफरेस्ट एक्सन’ तयार रहेको थियो । तर लामो समयसम्म सहमति पाउन नसकेको भन्दै अनुदान उपलब्ध नगराउने भन्दै सन्देश पठाएको समितिले जानकारी गराएको छ । 

समितिका अध्यक्ष डा किरण पौडेलले चुरे क्षेत्रमा पुराना दाता फर्किए पनि नयाँ दातासँग थप पैरवी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एसियाली विकास बैङ्क (एडिबी) सँग चुरेमा बाँस रोप्न ३० मिलियन डलरको आर्थिक सहयोगका लागि प्रस्ताव गरिएको छ ।

चुरेमा बाँस रोप्नका लागि नै कसरत गरेको समितिले दाता नपाएका बेलामा अझै चुरेमा चिउरीका बिरुवा रोप्न पनि दाता खोजिरहेको छ । 

समितिका अध्यक्ष डा पौडेलले चुरेमा ५० लाख हाराहारीमा चिउरीका बिरुवा रोप्न पौने तीन अर्ब बराबर लागत लाग्ने बताउनुभयो ।