नयाँ दिल्ली, पुस ६ :
भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
जयपुर- अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले लगभग २४- २५ जनालाई आईसीयूमा भर्ना गरिएको जानकारी दिनुभएको छ । घटनामा धेरै घाइते भएका र यो एक गम्भीर दुर्घटना भएको उहाँले बताउनुभएको छ ।
आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारी साधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो ।
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताउनुभएको छ ।