काठमाण्डौँ , पुस ७ :

सरकारले हरेक पालिकालाई विपद् जोखिम न्यूनीकरणका हिसाबले व्यवस्थित र सक्षम बनाउने भएको छ । 

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता स्थानीय तहलाई विपद् उद्धारमा सक्षम बनाउन आवश्यक सामग्री उपलब्ध गराइ सहयोग गर्ने प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले बताउनुभयो । 

उहाँले विपद् व्यवस्थापनका दृष्टिले पालिकामा न्यूनतम मापदण्ड पुर्‍याउने गरी आवश्यक तयारी थालिएको जानकारी दिनुभयो । 

प्राधिकरणको नेतृत्वमा हालै पश्चिम नेपालमा गरिएको एक अध्ययनले स्थानीय तहमा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकेको औँल्याएको थियो । त्यसलाई सम्बोधन गर्न प्राधिकरणले तयारी थालेको हो । 

कम्तीमा विपद् उद्धारका न्यूनतम सामग्री टेन्ट, त्रिपाल तथा आवश्यक खाद्यान्न, सुरक्षित स्थान, ‘रेष्पोन्स टिम’ लगायत व्यवस्था हुनुपर्ने हुन्छ । 

उक्त प्रतिवेदनले स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोतसाधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययनमा विपद् व्यवस्थापन कति संस्थागत भएको छ कि छैन भनेर हेरिएको थियो । 

यसले स्थानीय तहमा विपद् व्यवस्थापन संस्थागत हुन नसकेको, केही स्थानीय तह बाहेक धेरै विपद्को मापदण्डभन्दा तल रहेको पाइएको प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो ।